धादिङबेसी, साउन ६ गते । लगातारको वर्षापछि धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुले क्षेत्रमा गएको पहिरोले चार परिवार विस्थापित भएका छन्। पँधेरो खोल्चा डाँडा क्षेत्रमा जमिन चिरिएर पहिरो बग्न थालेपछि स्थानीय बस्ती उच्च जोखिममा परेको हो।
पहिरोले दिलबहादुर गुरुङको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका घर चर्किएपछि ती परिवार सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्।
पहिरोका कारण करिब २०० रोपनी खेतीयोग्य जमिन प्रभावित भएको स्थानीयले बताएका छन्। यसैगरी पहिरोले खानेपानीको मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि धादिङबेसीमा खानेपानी आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।

नीलकण्ठ नगरपालिका–२ स्थित मुहानबाट मूल वितरण ट्याङ्कीसम्म पानी ल्याउने मुख्य पाइपलाइन पहिरोले बगाएपछि सदरमुकाम क्षेत्रमा खानेपानी आपूर्ति रोकिएको हो। नीलकण्ठ नगर खानेपानी, सरसफाइ तथा स्वच्छता बोर्डका अध्यक्ष शिव अधिकारीका अनुसार मुहानदेखि ट्याङ्कीसम्म पानी ल्याउने करिब एक हजार ३०० मिटर लामो पाइप पहिरोले बगाएको छ।
खानेपानी सेवा अवरुद्ध हुँदा सदरमुकामका करिब दुई हजार ५०० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्। पहिरोले प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको करिब ६ सय घनमिटर क्षमताको तारजाली संरचनासमेत बगाएको छ। उक्त संरचना निर्माणमा प्रदेश सरकारबाट करिब ६५ लाख रुपैयाँ लगानी गरिएको थियो।

स्थानीय भरतबहादुर गुरुङका अनुसार भुलभुले गाउँको माथिल्लो भागसँगै नेवार खोल्चा क्षेत्रबाट समेत पहिरो झर्ने क्रम जारी रहेकाले थप बस्ती जोखिममा परेको छ। निरन्तर वर्षाका कारण पहिरो अझ फैलिन सक्ने भन्दै स्थानीयले तत्काल संरक्षण, राहत र सुरक्षित स्थानान्तरणको व्यवस्था गर्न माग गरेका छन्।


