
भि. यु .टी. खबर
लुङरूपामा अस्थायी प्रहरी चौकी स्थापना : अपराधग्रस्त क्षेत्रले अब शान्तिको आशा गर्न थाल्यो ।
फिदिम, पाँचथर —३० /०२ /२०८२
एक समय थियो, जब फिदिम नगरपालिका वडा नं. १३ र १४ मा सामान्य विवाददेखि लिएर हत्या, झगडा र जबर्जस्ती जस्ता जघन्य अपराधहरू हुने गरेका थिए। प्रहरी सेवाको सहज पहुँच नहुँदा, पीडितहरू न्यायबाट वञ्चित हुन्थे, भने अपराधीहरू उम्कन सफल हुन्थे। तर अब, स्थानीय जनताको लामो प्रतिक्षा र पहलपछि लुङरूपामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।
यस क्षेत्रका नागरिकहरू विगतमा गुनासो लिएर प्रहरीसम्म पुग्न नागिन, तमाखे वा जिल्ला प्रहरी कार्यालयसम्म पुग्न बाध्य थिए। भौगोलिक दूरी, समय, र स्रोतको अभावका कारण धेरै मुद्दा मौनै रहन्थे। कतिपय अवस्थामा अन्यायले नै जित्ने अवस्थासमेत देखिन्थ्यो।
तर अब, अस्थायी प्रहरी पोष्टको स्थापनाले यस अवस्थालाई पूर्णतः बदल्ने अपेक्षा गरिएको छ। स्थानीय नागरिकहरू भन्छन् —
“अब हाम्रो सुरक्षाको जिम्मा नजिकैको चौकीसँग छ, अब पीडितको आवाज छेउमै सुनिन्छ।”
प्रहरी प्रशासनले यो पोष्टलाई केवल कार्यलयका रूपमा होइन, समुदायसँगको सहकार्यको सुरुवातको रूपमा लिएको छ। ईञ्चार्ज प्रहरी सहायक निरीक्षक श्री नदिप राईको नेतृत्वमा सञ्चालित पोष्टले अब निडर समाज निर्माणतर्फ अग्रसर हुने विश्वास गरिएको छ।
पोष्ट स्थापना कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक श्री कौशल कुमार बुढाथोकीले लुङरूपालाई “अपराधमुक्त नमुना क्षेत्र” बनाउने संकल्प व्यक्त गरेका थिए।

भि. यु. टी .खबर
अपराधमुक्त समाजतर्फको यात्रा
महिला हिंसा, जबर्जस्ती करणी, चोरी, कुटपिट, मादक पदार्थ सेवन, वैमनस्यता लगायतका सामाजिक अपराधहरू न्यूनीकरण गर्दै स्थानीय जनतामा आत्मविश्वासको विकास गर्नु पोष्टको प्राथमिकता हुनेछ। चौकी स्थापनाले अब गाउँका आमा, दिदीबहिनीहरू डर र त्रास बिना हिँडडुल गर्न सक्ने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।
पोष्ट स्थापनाका लागि सक्रिय भूमिका खेल्ने वडा नं. १३ र १४ का जनप्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दल, नागरिक समाज तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई विशेष धन्यवाद दिइएको छ।

स्थानीय प्रशासन, प्रहरी र समुदायबीचको सहकार्यबाट लुङरूपा अब शान्ति, सुरक्षा र न्यायको नयाँ बाटोमा अग्रसर हुने विश्वास गरिन्छ।
समाचार संवाददाता :भि. यु. टी .खबर
लक्ष्मण राई (जीवन)
