काठमाडौँ, वैशाख ३१ गते ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताउनुभएको छ ।
दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशिलतासम्बन्धी बुधबार काठमाडौँमा आयोजित कार्यशालामा उहाँले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले त्यसै बमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने स्पष्ट गर्नुभयो ।
मन्त्री डा. राणाले भन्नुभयो, “यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरु पर्याप्त छैनन् । त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो । त्यसैले यो सबैको साझा मञ्च हो ।”

हालैका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा र बाढी, हिमताल विस्फोट, खडेरी, बन डढेलो लगायतका जलवायुजन्य गम्भीर प्राकृतिका प्रकोपको सामना गरिरहेको दृष्टान्त पेश गर्दै यस्ता समस्याहरु यस क्षेत्रकै समस्या रहेकाले तिनको निकासका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो । नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।

मन्त्री डा. राणाले आगामी शुक्रबारदेखि काठमाडौँमा आयोजित यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म रहेकाले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दाहरूमा छलफल हुने जानकारी पनि दिनुभयो ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण
सो कार्यक्रममा मन्त्री डा. राणाले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू गरेको र यससम्बन्धी नीति तथा रणनीतिक कार्य योजनाहरु निर्माण गरी काम गरिरहेको जानकारी गराउनुभयो । नेपाल पेरिस सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध रहेको जानकारी दिँदै मन्त्री डा. राणाले सरकारले हरित ऊर्जाको प्रवद्र्धन, विद्युतीय सवारी साधनको प्रयोग, सामुदायिक वनसहितको वन विस्तारलाई प्रोत्साहन तथा जलाशय, राष्ट्रिय निकुञ्ज र अन्य प्राकृतिक सम्पदाको संरक्षणसम्बन्धी नीतिहरू लिएको जानकारी पनि दिनुभयो ।
समाचार स्रोत:

पत्रकार :लक्ष्मण राई
